सुदूरपश्चिम प्रदेश : ४.९७ प्रतिशत विन्दुले घट्यो उद्योगको औसत क्षमता उपयोग

अनलाइनसमय |
१२ जेठ २०८३
सुदूरपश्चिम प्रदेश : ४.९७ प्रतिशत विन्दुले घट्यो उद्योगको औसत क्षमता उपयोग

काठमाडौं, १२ जेठ । पछिल्लो एक वर्ष अवधिमा सुदूरपश्चिम प्रदेशको उद्योगको औसत क्षमता उपयोग ४ दशमलव ९७ प्रतिशत विन्दुले ले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८२/८३’का अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को अर्ध–वार्षिक अवधिमा सुदूरपश्चिम प्रदेशको उद्योगको औसत क्षमता उपयोग ३० दशमलव ८२ प्रतिशत छ । गत वर्षको पुससम्ममा यस्तो क्षमता उपयोग ३५ दशमलव ७९ प्रतिशत रहेको थियो । अध्ययनमा नमुना छनौटमा ११ उद्योग समेटिएका थिए ।

समीक्षा अवधिमा तोरीको तेल, चामल, रोजिन र साबुनको उत्पादन बढेको छ भने गहुँको पिठो, चिनी, ईट्टा र कंक्रिटको उत्पादन घटेको छ । कंक्रिट, ईट्टा जस्ता गैरधातु खनिजजन्य वस्तु उत्पादन गर्ने उद्योगको तुलनात्मक रुपमा बढी क्षमता उपयोग भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

गत अवधिको तुलनामा तोरीको तेल, गँहुको पिठो, चिनी र कंक्रिट उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको छ भने चामल, साबुन र रोजिन उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ । त्यस्तै, ईट्टा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग यथावत रहेको पाईएको छ ।

अध्ययनमा समेटिएका उद्योगहरुमा १ हजार ५४ जनाले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन्, जसमा ८९.८५ प्रतिशत पुरुषको रहेका छन भने १०.१५ प्रतिशत महिला रोजगार रहेका छन । नमुना छनौटमा परेका उद्योगहरुमा आवद्ध महिला तथा पुरुषहरु मध्ये १४.३३ प्रतिशत विदेशी नागरीकहरुले समेत रोजगारी पाईरहेका छन् ।

राष्ट्र बैंकका अनुसार पुससम्ममा तोरीको तेल, चामल, र साबुनको उत्पादनमा क्रमश ः ६७५.१९ प्रतिशत, १७.४६ प्रतिशत, ३.६२ प्रतिशतले वृद्धि भएको छ भने अन्य सबै उद्योगहरुको उत्पादनमा कमी आएको छ । चिनी उद्योगको उत्पाद ६०.११ प्रतिशत, गहुँको पिठो २.३४ प्रतिशत र कंक्रिट ब्लक ३.०३ प्रतिशतले ह्रास आएको छ ।

व्यापारिक गतिविधिमा आएको सुस्तता, समग्र मागमा आएको कमी, कच्चा पदार्थको कमी, बढ्दो बजार प्रतिस्पर्धा लगायतका कारणले वस्तु उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग घटेर उत्पादनमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, सनफलावर तथा भटमास तेलको मूल्य वृद्धिका कारण तोरीको तेलको माग बढ्न गई गत अवधिको तुलनामा उत्पादनमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस