काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउण्टर तोकेर सेवा प्रदान गर्न भनेको हो ।
बैंक तथा वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस प्रकारको शाखाको विवरण बैंकहरुले वेबसाइटमा राख्नुपर्नेछ ।
त्यस्तै, ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका सङ्केत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपांगमैत्री एटिएम राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ । अपाङ्गता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्नसक्ने स्वघोषणा गरेको खण्डमा इजाजतप्राप्त संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ ।
आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिलेसमेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ । क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधिसमेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले कार्यालय समयभन्दा बाहिर कर्मचारीलाई काममा लगाउँदा कानुनअनुसार अतिरिक्त परिश्रमिक उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको गरेको छ । निर्देशनअनुसार अब कुनै पनि बैंक वा वित्तीय संस्थाले कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न पाउने छैनन् । आवश्यकता अनुसार अतिरिक्त समय काम गराउँदा सम्बन्धित कर्मचारीलाई प्रचलित श्रम कानुनअनुसार ओभरटाइम सुविधा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
