ह्वाइट हाउस बाहिर गोलीबारी, १ जनाको मृत्यु

अनलाइनसमय |
१० जेठ २०८३
ह्वाइट हाउस बाहिर गोलीबारी, १ जनाको मृत्यु

काठमाडौं, १० जेठ । अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउस बाहिर भएको गोलीबारीमा एक संदिग्ध बन्दुकधारी मारिएका छन् । अमेरिकी सुरक्षा निकाय सिक्रेट सर्विसले जवाफी कारबाही गर्दा ती व्यक्ति मारिएका हुन् ।

बीबीसीका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकै रहेको १७औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा अचानक गोली चलेको थियो । घटनापछि सम्पूर्ण क्षेत्र उच्च सुरक्षा निगरानीमा राखिएको थियो ।

सिक्रेट सर्विसले सार्वजनिक गरेको विवरणअनुसार संदिग्ध व्यक्तिले झोलाबाट हतियार निकालेर गोली चलाउन थालेपछि सुरक्षामा खटिएका एजेन्टहरूले तत्काल प्रतिकार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका ती व्यक्तिलाई अस्पताल पु¥याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

घटनापछि ह्वाइट हाउस परिसर केही समयका लागि पूर्ण रूपमा बन्द गरिएको थियो । त्यहाँ रहेका पत्रकार तथा कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । करिब एक घण्टापछि मात्रै लकडाउन हटाइएको थियो ।

घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेको बताइएको छ । तर, राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कुनै असर नपरेको सीबीएस न्यूजले उल्लेख गरेको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थलमा लगातार गोली चलेको आवाज सुनिएको थियो । त्यसलगत्तै ठूलो संख्यामा प्रहरी र सुरक्षा अधिकारी परिचालन गरिएको थियो ।

हाल सिक्रेट सर्विस र स्थानीय प्रहरीले घटनाबारे संयुक्त अनुसन्धान गरिरहेका छन् । मारिएका व्यक्तिको पहिचान तथा आक्रमणको उद्देश्यबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस