काठमाडौं, ८ जेठ । बेंगलुरुबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमान अवतरणको क्रममा इन्जिनमा आगलागीको संकेत देखिएपछि पूर्ण आपतकालीन अवस्था घोषणा गरिएको छ ।
‘एआई २८०२’ उडान नम्बरको एयरबस ए३२० विमान स्थानीय समयअनुसार मे २१ तारिख राति करिब ९ः३० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको रनवे २९आरमा सुरक्षित रूपमा अवतरण भएको हो ।
विमानमा सवार १८० यात्रु तथा चालक दलका सबै सदस्यलाई सकुशल बाहिर निकालिएको थियो । घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले औपचारिक छानबिन सुरु गरेको छ भने एयर इन्डियाले पनि नियामक निकायसँग समन्वय गर्दै आन्तरिक अनुसन्धान अघि बढाएको जनाएको छ ।
ककपिट स्रोतका अनुसार अवतरणको अन्तिम चरणमा रहँदा विमानको एउटा इन्जिनबाट आगलागीको चेतावनी प्राप्त भएको थियो । प्रारम्भिक रूपमा प्रणालीको त्रुटि हुन सक्ने अनुमान भए पनि पछि वास्तविक जोखिमको संकेत भएको पुष्टि भएको बताइन्छ ।
त्यसपछि पाइलटहरूले आपतकालीन प्रक्रिया अपनाउँदै एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराएर पूर्ण इमरजेन्सी घोषणा गरिएको थियो ।
अवतरणपछि आकस्मिक उद्धार टोली परिचालन गरी विमानस्थल केही समयका लागि बन्द गरिएको थियो । विमानलाई रनवेबाट हटाएर सुरक्षित स्थानमा सारिएको थियो भने यात्रुलाई सामान्य जेट ब्रिजको सट्टा ग्राउन्ड उपकरणमार्फत बाहिर निकालिएको थियो ।