काठमाडौं, ६ जेठ । नेपालको सार्वजनिक ऋण दायित्व झण्डै ३० खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को वैशाख मसान्तसम्ममा सरकारको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
१० महिना अवधिमा सार्वजनिक ऋण ३ खर्ब ९९ करोड रुपैयाँले वृद्धि भएको छ । चालू आवको शरुुमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड थियो ।
कार्यालयको तथ्याङ्क अनुसार सरकारले चालू आवको वैशाखसान्तसम्म सबैभन्दा बढी बाह्य ऋण तिर्न बाँकी छ । सो अवधिमा सरकारले बाह्य ऋण १५ खर्ब ९३ अर्ब ८१ करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब २२ करोड तिर्न बाँकी छ ।
करिब ३ खर्ब ऋण भुक्तानी
सरकारले चालू आवको १० महिनामा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा झन्डै ३ खर्ब खर्च गरिसकेको छ । कार्यालयका अनुसार वैशाखसम्म २ खर्ब ९२ अर्ब ५२ करोड ऋण भुक्तानी गरेको छ । चालू आवमा सरकारले सोही प्रयोजनका लागि ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरेको छ ।
यस वर्ष आन्तरिक ऋणको साँवा भुक्तानी १ खर्ब ८५ अर्ब ६६ करोड र ब्याज भुक्तानी ५० अर्ब ५२ करोड बराबर भएको छ । बाह्य ऋणको साँवा भुक्तानी ४६ अर्ब २५ करोड र ब्याज भुक्तानी १० अर्ब ६ करोड बराबर भएको छ ।
यस अनुसार १० महिनामा साँवा भुक्तानीमा २ खर्ब ३१ अर्ब ९२ करोड र ब्याज भुक्तानीमा ६० अर्ब ५९ करोड खर्च भएको देखिन्छ ।
जीडीपीको ४५.८ प्रतिशत सार्वजनिक ऋण
कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा वैशाखसम्म सार्वजनिक ऋण ४५.०८ प्रतिशत रेहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले १५ वैशाख २०८३ मा सार्वजनिक गरेको जीडीपीको आकार लिएर सार्वजनिक ऋणको तुलना गरिएको हो । सोहीकारण सार्वजनिक ऋण अनुपात चैतको तुलनामा घटेको देखिन्छ । चैतसम्म जीडीपीका आधारमा सार्वजनिक ऋण ४८.०४ प्रतिशत थियो ।
राष्ट्रिय तथ्यांक कार्यालयले गत आवमा ६१ खर्ब हाराहारी रहेको अर्थतन्त्रको आकार चालू आवमा ६६ खर्ब पुगेको बताएको छ । सोही आधारमा वाह्य ऋण जीडीपीको २४.१५ र आन्तरिक ऋण २०.९३ प्रतिशत बराबर रहेको छ ।
लक्ष्यको ६१.३० प्रतिशत ऋण प्राप्ती
यसैगरी, चालू आवमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ६१ दशमलव ३० प्रतिशत हो ।
यस वर्ष आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब रुपैयाँ ऋण उठाउने सरकारी लक्ष्य रहेकामा ८२ दशमलव ५० प्रतिशत अर्थात् २ खर्ब ९८ अर्ब ६६ करोड रुपैयाँ उठिसकेको छ ।
त्यस्तै, बाह्य ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २८ दशमलव ४६ प्रतिशत अर्थात् ६६ अर्ब ४९ करोड रुपैयाँ प्राप्त भइसकेको छ भने १ खर्ब ६७ अर्ब १६ करोड रुपैयाँ प्राप्त हुन बाँकी रहेको छ ।