काठमाडौं, ५ जेठ । जोरा स्पोट्र्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ ।
म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानुनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
जोरा स्पोट्र्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुदको बृहत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात् गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रबन्ध निर्देशक अख्तरले आफू स्वयं पूर्व राष्ट्रिय खेलाडी भएकाले व्यक्तिगत द्वेषभन्दा पनि खेल क्षेत्रको सुधारका लागि अदालतको शरण लिनुपरेको स्पष्ट पारेका छन् ।
राखेपले गत २०८२ फागुन १२ गते पठाएको पत्रको स्वागत गर्दै जोरा स्पोट्र्सले खेलकुदको अभिभावक निकायको भावनालाई सम्मान गरेको जनाएको छ । अख्तरले आफू निवेदकरवादी भई क्यानविरुद्ध दायर गरेका सबै मुद्दाहरू सम्बन्धित अदालतमा निवेदन दिई तत्कालै फिर्ता लिने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
मुद्दा फिर्ता लिने घोषणा गरे पनि अख्तरले नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड र सम्बन्धित बैंक खाताहरूमाथि भने आफ्नो कानुनी स्वामित्व यथावत रहने जानकारी दिएका छन् । आगामी दिनमा क्यान र राखेपसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेकोसमेत अख्तरले उल्लेख गरेका छन् ।

