वैशाखमा बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि सुधार

अनलाइनसमय |
३ जेठ २०८३
वैशाखमा बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि सुधार

काठमाडौं, ३ जेठ । चालू अर्थिक वर्ष (आव) २०८२/८३ को वैशाखमा घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि भएको छ । देशभरको घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार वैशाखमा देशभरका भूमि प्रशासन कार्यालयमार्फत ५८ हजार ८ सय ८६ वटा घरजग्गा लिखत पारित भएको छ, जुन गत आवको सोही महिनाको तुलनामा १२ दशमलव ३४ प्रतिशतले बढी हो । गत आवको वैशाखमा ५२ हजार ४ सय १५ वटा घरजग्गा कारोबार भएको थियो ।

चालू आवको वैशाखमा अघिल्लो महिना चैतको तुलनामा समेत यस्तो कारोबार ६.०४ प्रतिशतले बढेको छ । चैतमा ५५ हजार ५ सय ३१ वटा कारोबार भएका थिए ।

कारोबारसँगै सरकारले प्राप्त गर्ने राजस्वमा पनि वृद्धि भएको छ । विभागका अनुसार चैतमा घरजग्गा कारोबारबाट ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा वैशाखमा यो रकम बढेर ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

घरजग्गा कारोबारबाट सरकारले सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । विभागका अनुसार वैशाखमा सेवा करबाट मात्रै ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, रजिस्ट्रेसन दस्तुरबाट ३३ करोड १९ लाख रुपैयाँ र पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ आम्दानी उठेको विभागले जनाएको छ ।

विभागका अनुसार सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ५९ करोड ९१ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । मालपोत कार्यालय डिल्लीबजारपछि धेरै राजस्व संकलन गर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल रहेको छ । यस कार्यालयले वैशाखमा घरजग्गा कारोबारबाट ५२ करोड ९६ रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय भरतपुरले ४७ करोड १४ लाख, मालपोत कार्यालय चाबहिलले ४२ करोड ६५ लाख, मालपोत कार्यालय कलङ्कीले ४१ करोड ९९ लाख, मालपोत कार्यालय कास्कीले २६ करोड २६ लाख र चितवनले २१ करोड १ लाख राजस्व संकलन गरेको छ ।

यसैगरी सबैभन्दा धेरै घरजग्गाको कारोबार गर्नेमा भने सुनसरीको इनरूवा मालपोत रहेको छ । यो कार्यालयले वैशाखमा २ हजार १५४ घरजग्गा लिखत पारित गरेको छ । सुनसरीपछि झापाको भद्रपुर मालपोतबाट २ हजार ४३ वटा घरजग्गाको कारोबार भएको छ । त्यस्तै बेलवारी मोरङबाट १ हजार ८३६, धनुषाको जनकपुरधाम मालपोत कार्यालयबाट १ हजार ६९७ र सप्तरी मालपोतबाट १ हजार ६९० वटा घरजग्गाको कारोबार भएका छन् ।

काठमाडौं उपत्यकाको हकमा घरजग्गाको किनबेच सबैभन्दा बढी भक्तपुरले गेरेको देखिन्छ । भक्तपुर मालपोतले माघमा १ हजार २२४ घरजग्गाको लिखत पारित गरेको छ । त्यस्तै लगनखेल मालपोतले १ हजार १४२, कलङ्की मालपोतले ८८७ र चाबहिल मालपोतले ६५४ वटा घरजग्गाको कारोबार गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस