आफ्नै रकेर्ड तोड्दै कामिरिताले बनाए नयाँ कीर्तिमान, ३२ औँ पटक सगरमाथाको चुचुरोमा

अनलाइनसमय |
३ जेठ २०८३
आफ्नै रकेर्ड तोड्दै कामिरिताले बनाए नयाँ कीर्तिमान, ३२ औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौं, ३ जेठ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका ५६ वर्षीय शेर्पाले आज (१७ मे २०२६) बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

उनले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई तोडेका हुन् । उनी ‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ ।

सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण सुरु गरेका शेर्पाले सन् २०२६ सम्म आइपुग्दा निरन्तर रूपमा विश्व पर्वतारोहण समुदायलाई प्रेरित गर्दै आएको सेभेन समिट ट्रेकले जनाएको छ ।

‘कामी रिता शेर्पा केवल नेपालका राष्ट्रिय पर्वतारोहण नायक मात्र होइन, उहाँ सगरमाथाकै एक जीवित प्रतीकका रूपमा विश्वभर परिचित हुनुहुन्छ । उहाँको शक्ति, अनुभव र निरन्तरता हरेक वर्ष पर्वतारोहण समुदायका लागि प्रेरणाको स्रोत बनेको छ । उहाँको सुरक्षित अवतरणको कामना गर्दै बेस क्याम्पसम्म सकुशल फर्किन शुभेच्छा व्यक्त गर्दछौँ । काठमाडौंमा पुनः स्वागत गर्न आतुर छौँ ।’ सेभेन समिटले लेखेको छ ।

११औँ पटक सगरमाथा आरोहण गर्दै लाक्पाले राखिन् विश्व कीर्तिमान
त्यसैगरी, ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले आज बिहान ९ः३० बजे ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्वकीर्तिमान कायम गरेकी छन् ।

सन् १९७३ मा संखुवासभा, मकालु–२ मा जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस