नेप्सेमा सामान्य अङ्कको वृद्धि, कारोबार रकम भने घट्यो

अनलाइनसमय |
१ जेठ २०८३
नेप्सेमा सामान्य अङ्कको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं, १ जेठ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ७७ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७३१ दशमलव ९४ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार परिसूचक १० दशमलव ७ अङ्कले घटेर २,७३० को विन्दुमा कायम भएको थियो ।

आज परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । बिहीबार ३ अर्ब २९ करोड कारोबार भएकोमा आज ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ७९ लाख ३४ हजार ४३४ कित्ता शेयर ४३ हजार ६७३ पटक किनबेच भएको छ ।

शुक्रबार ३३८ धितोपत्र कारोबारमा आए, जसमध्ये १२७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १२१ धितोपत्रको मूल्य घटेको छ भने २१ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढ्दा ६ समूहको उपसूचक घटेको छ । निर्जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै ०.६४ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्सको ०.३७, व्यापार समूहको ०.३३, होटल एण्ड टुरिजमको ०.२८, बैंकिङ्को ०.१३, हाइड्रोपावरको ०.६ तथा अन्य समूहको उपसुचक ०.१९ प्रतिशतले बढेको छ । यस दिन म्यचुअल फण्डको उपसूचक सबैभन्दा धेरै ०.३३ प्रतिशतले घटेको छ ।

शुक्रबार राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ३.३६ प्रतिशतले बढेको छ । त्यस्तै, भिजन लुम्बिनी उर्जा कम्पनीको २.९४ र बुटवल पावर कम्पनीको २.७२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज युनियन हाइड्रोपावरको शेयरमूल्य १४.७९ प्रतिशतले घटेको छ । त्यस्तै, क्रेष्ट माइक्रोलाइफको ५.८१, नेपाल रि–पब्लिक मिडियाको ४.५६ र सामलिङ पावर कम्पनीको २.५७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस