एनआईएमबीका सीईओ पाण्डे पक्राउप्रति बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूको ध्यानाकर्षण

अनलाइनसमय |
३१ वैशाख २०८३
एनआईएमबीका सीईओ पाण्डे पक्राउप्रति बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूको ध्यानाकर्षण

काठमाडौं, ३१ वैशाख । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिइएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सीइओ पाण्डेलाई नियन्त्रणमा लिएपछि ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बैंक वित्तीय तथा लघुवित्त संस्थाहरु बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीति÷निर्देशनको अधिनमा रही आम सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक बृद्धि, रोजगारी सृजना तथा उद्यमशीलता विकासमा टेवा पुग्ने गरी कर्जा प्रवाह गर्दै आइरहेको व्यहोरा सबैमा विदित नै छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा (५७) ले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा असुली नभएको अवस्थामा असुलीका लागि विशेष अधिकार दिएको छ । यो बैंकको प्राथमिक प्रकृया भित्र रहने र प्रमुख कार्यकारी अधिकृतको मूल दायित्व भित्र पर्दछ ।’

सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारण प्रमुख कार्यकारी अधिकृतको पक्राउले बैंकको साख नै गिर्न सक्ने र बैंकको स्थायित्वमा आँच आउनसक्ने दाबी बैंकर्स संघहरूको छ ।

बैंकको साख तथा प्रमुख कार्यकारी अधिकृत जस्तो पदको गरिमालाई समेत मध्येनजर गर्दै ‘सुन अनि थुन’ को सिद्धान्तमा रही आवश्यक अनुसन्धान गर्नुपर्ने भए सीईओ पाण्डेलाई यथाशिघ्र थुनाबाट बाहिरै राखि अनुसन्धान प्रक्रियाअघि बढाउन बैंक संघहरूले अपील गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस