काठमाडौं, २२ वेशाख । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आगामी जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणका लागि बाँकी शेयर बिक्री खुला गर्न लागिएको हो ।
कम्पनीलाई जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त भएको थियो । सोमध्ये १४ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिएको छ । साथै, १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको शेयरसमेत बाँडफाँट भइसकेको छ ।
अब बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक गरिनेछ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।