झापाको हिमालय माविमा झण्डै १ करोड भ्रष्टाचार, प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा दायर

अनलाइनसमय |
१५ वैशाख २०८३
झापाको हिमालय माविमा झण्डै १ करोड भ्रष्टाचार, प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा दायर

काठमाडौं, १५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालयको भवन निर्माणलगायतमा भ्रष्टाचार अभियोगमा प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध ९३ लाख ८३ हजार ३०९ रूपैयाँ बिगो दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

दमक नगरपालिकामार्फत् आर्थिक वर्ष २०७७÷७८ देखि नमूना विद्यालय भवन निर्माणका क्रममा वास्तविक मूल्याङ्कनभन्दा बढी देखाएर झुट्टा बिल तथा कागजात तयार गरी रु. ५९ लाख २६ हजारभन्दा बढी भुक्तानी लिएको पुष्टि भएको छ ।

भएको भवन निर्माणमा पहिलो तलाको वास्तविक मूल्यांकन १ करोड ४८ लाख ५३ हजार २३५ रूपैयाँ रहेकोमा नक्कली बिल, बिजक र भरपाइ बनाएर २ करोड ७ लाख ७९ हजार ९२२ रूपैयाँ भुक्तानी गरेको अख्तियारले जनाएको छ ।

यसैगरी, लेखापरीक्षणका क्रममा विद्यालयको नगद रकम पनि दुरुपयोग भएको देखिएको छ । भवन निर्माणमा ५९ लाख २६ हजार ६८६ रूपैयाँ बढी भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको अख्तियारको दाबी छ । त्यस्तै दुईजनाको मिलेमतोमा २०७७÷०७८ देखिकै बेरुजु रकम करिब १६ लाख ६० हजार रुपैययाँ र १७ लाख ९६ हजार रुपैयाँ व्यक्तिगत प्रयोग गरिएको अख्तियारले जतनाएको छ ।

समग्रमा यी सबै शीर्षक जोड्दा विद्यालयको करिब ९३ लाख ८३ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना, दुरुपयोग र निजी लाभका लागि प्रयोग गरिएको आयोगको निष्कर्ष छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस