काठमाडौं, १५ वैशाख । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद नियुक्तिका लागि आवेदन खुलाइएको छ ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले मंगलबार सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन माग गरेको हो ।
समितिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् वैशाख २१ गतेसम्म अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेस गर्न आग्रह गरेको छ ।
योग्यताका हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ ।
त्यस्तै ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचारजन्य, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागु औषध कारोबार लगायतका फौजदारी कसुर पाएका व्यक्ति अध्यक्ष पदका लागि अयोग्य हुने छन् ।
यही वैशाख ४ गते सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि बोर्डमा अध्यक्षको पद रिक्त छ । तत्कालीन सरकारले श्रेष्ठलाई २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।