काठमाडौं, १४ वैशाख । नेपालको धितोपत्र बजारको सर्वोच्च नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यतिबेला नेतृत्वविहीन अवस्थामा पुगेको छ । निवर्तमान अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अघिल्लो साता राजीनामा दिएसँगै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको छ ।
श्रेष्ठको राजीनामा राजनीतिक सन्दर्भसँग जोडिएको विश्लेषण भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको दलले यसअघि नै राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेको थियो । त्यसको प्रभाव सेबोनमा पनि परेको अनुमान गरिन्छ । विगतमा अध्यक्ष नियुक्तिमा राजनीतिक पहुँच विस्तारदेखि आर्थिक चलखेलसम्मका आरोप लाग्दै आएकाले यसपटकको चयन प्रक्रियामाथि विशेष चासो केन्द्रित भएको छ ।
नेपालको धितोपत्र बजारमा हाल ७७ लाखभन्दा बढी लगानीकर्ता आबद्ध छन् भने बजार पूँजीकरण करिब ४८ खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । यति ठूलो आकारको बजारको नियमन गर्ने निकायमाथि भने पारदर्शिता र संस्थागत सुशासनका प्रश्नहरू निरन्तर उठ्दै आएका छन् । पछिल्लो ६ वर्षमा नियुक्त भएका तीनै जना अध्यक्ष विवादमुक्त रहन सकेनन् र कसैले पनि पूर्ण कार्यकाल पूरा गर्न पाएनन् ।
सरकारले नयाँ अध्यक्ष चयनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीनसदस्यीय सिफारिस समिति गठन गरिसकेको छ । समितिमा अर्थ मन्त्रालयका सचिव र एक विज्ञ सदस्य रहेका छन् । समितिलाई अन्तरराष्ट्रिय पुँजी बजारका अभ्यास अध्ययन गरी त्यसलाई नेपालमा लागू गर्न सक्ने योग्य व्यक्तिको सिफारिस गर्न निर्देशन दिइएको छ ।
विगतका कमजोरी र अन्तरराष्ट्रिय पाठ
पछिल्ला वर्षहरूमा सेबोन नेतृत्वमा विवाद दोहोरिँदै आएका छन् । नीतिगत अस्पष्टता र राजनीतिक हस्तक्षेपजस्ता कारणले नियामकको प्रभावकारितामाथि प्रश्न उठेको छ । अन्तरराष्ट्रिय बजारहरूमा भने प्रविधि र नियमनमा उल्लेखनीय सुधार भइसकेको छ । छिमेकी मुलुक भारतसहित विकसित बजारहरूले सेटलमेन्ट प्रणालीलाई छिटो बनाएका छन्, आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर रियल–टाइम सुपरिवेक्षण गरिरहेका छन् र डेरिभेटिभ्स, इन्डेक्स ट्रेडिङजस्ता आधुनिक उपकरणहरू सञ्चालनमा ल्याइसकेका छन् । नेपालमा भने यी अधिकांश क्षेत्र अझै प्रारम्भिक चरणमै छन् ।
सरोकारवालाहरूका अनुसार अबको नेतृत्वले धितोपत्र ऐनलाई समयानुकूल परिमार्जन गर्ने, वित्तीय अपराधमा कडा दण्ड व्यवस्था लागू गर्ने, एआई र डाटा एनालिटिक्समा आधारित निगरानी प्रणाली विकास गर्ने र नयाँ वित्तीय उपकरणहरू सुरु गर्ने दिशामा काम गर्नुपर्नेछ ।
पूर्व कार्यकारी निर्देशक अधिकारीको नाम चर्चामा
सेबोनको नयाँ नेतृत्वका लागि बोर्डकै पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारीको नाम पनि चर्चामा आएको छ । झन्डै २७ वर्ष सेबोनमा कार्यरत रही नियमन, नीति निर्माण, बजार सुपरिवेक्षण र संस्थागत विकासमा योगदान दिएका उनी उमेर हदका कारण हालै सेवा निवृत्त भएका हुन् ।

वि.सं. २०५६ सालमा सेबोनमा प्रवेश गरेका उनले विभिन्न जिम्मेवारी सम्हाल्दै कार्यकारी निर्देशक, बोर्ड सचिव, सुपरिवेक्षण विभाग प्रमुख र प्रवक्ताको भूमिकामा काम गरेका थिए । केही समय कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका उनले ‘इन्भेस्टर प्रोटेक्सन फण्ड’, बजार सुधारसम्बन्धी अध्ययन तथा नीतिगत पहलहरूमा सक्रिय भूमिका खेलेका छन् ।
सेबोनमा रहँदा उनले प्रादेशिक कार्यालय स्थापनाको सम्भाव्यता अध्ययन, लगानीकर्ता शिक्षा कार्यक्रम विस्तार तथा बजार सुधारका लागि विभिन्न प्रतिवेदन तयार पार्ने कार्यमा नेतृत्वदायी भूमिका खेलेका थिए । अन्तरराष्ट्रिय स्तरमा पनि विभिन्न वित्तीय सुपरिवेक्षण र लगानीकर्ता शिक्षा कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गरेका उनी अनुभवी नियामक व्यक्तित्वका रूपमा चिनिन्छन् ।
नेपालको पुँजी बजारमा इन्साइडर ट्रेडिङसम्बन्धी अन्तिम अनुसन्धानमा उनको भूमिका उल्लेखनीय मानिन्छ । साथै, आर्थिक सुधारसँग सम्बन्धित परियोजनाहरूको व्यवस्थापन र भूकम्पपछिको बजार स्थायित्वका लागि गरिएका अध्ययनहरूमा पनि उनको योगदान रहेको छ । यही पृष्ठभूमिमा अनुभवी र संस्थागत रूपमा परिपक्व नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला उनलाई सम्भावित विकल्पका रूपमा हेरिएको छ ।