काठमाडौं, ११ वैशाख । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आगामी वैशाख २३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गर्ने जनाएको हो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न भइसकेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५ दशमलव २६ प्रतिशत बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो । यसमध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र ३ लाख ३ हजार ६७ कित्ता शेयर विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपालीहरूलाई वितरण गरिसकिएको छ ।
त्यसैगरी, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता तथा कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर छुट्याएर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
अब कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ लाख १५ हजार ४५५ कित्ता शेयर बिक्री खुला गर्न लागेको हो । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
आईपीओ बिक्री छिटोमा वैशाख २८ गतेसम्म खुला रहनेछ । आवश्यक आवेदन नपरेमा बिक्री अवधि जेठ ६ गतेसम्म लम्बिन सक्नेछ ।