काठमाडौं, १० चैत । पछिल्ला दिन देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ । आज पनि तराईका जिल्लामा तातो दिन कायम रहने र केही जिल्लामा तातो हावाको लहर चल्ने जल तथा मौसम विभागको पूर्वानुमान छ ।
विभागका अनुसार आज सात वटै प्रदेशका तराई तथा उपत्यकाका खोँचहरुमा तातो दिन हुने प्रक्षेपण छ ।
मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले तातो लहरले स्वास्थ्यमा असर पर्ने भएकाले घामबाट जोगिन र अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग लगायत गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राती कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभभागले जनाएको छ ।