काठमाडौं, २४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एक पटक भर्ना भइसकेपछि पुनः भर्ना शुल्क नलिन निर्देशन दिएको छ ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी केही विद्यालयहरूले नियमविपरीत भर्ना सुरू गरेको र चर्को शुल्क लिएको गुनासो आएको भन्दै यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तह मार्फत विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।
कतिपय विद्यालयले शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थी भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने र एउटै विद्यालयमा अर्को कक्षामा जाँदा पनि पटक–पटक भर्ना शुल्क लिने गरेको भन्दै त्यसलाई मन्त्रालयले गैरकानुनी भनेको छ ।
साथै, सर्वोच्च फैसला सम्झाउँदै मन्त्रालयले नियमविपरीत लिइएको अग्रीम शुल्क तत्काल फिर्ता गराउन भनेको छ । कुनै विद्यालयले अटेरी गरे कारबाही गर्न भनिएको छ ।
