काठमाडौं, २० चैत । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को फागुन मसान्तसम्ममा धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब ७३ करोड कायम भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो । २०८१ फागुन मसान्तमा बजार पूँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८१ को फागुन मसान्तमा बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७९.५९ प्रतिशत रहेकोमा २०८२ फागुनमा ७७.६९ प्रतिशत रहेको छ ।
चालू आवको फागुन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरूको संख्या २८६ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत्कम्पनी, २७ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ७.२ प्रतिशत, व्यापारिक संस्थाको ४.४ प्रतिशत, होटेलको ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.८ प्रतिशत रहेको छ ।
नेप्सेमा २०८२ फागुन मसान्तमा सूचीकृत ९ अर्ब २६ करोड शेयरको चुक्ता मूल्य ९ खर्ब ११ अर्ब ९९ करोड रहेको छ । सो अवधिमा ३६ अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण शेयर, १२ अर्ब ५९ करोड बराबरको बोनस शेयर, ९ अर्ब ६४ करोडको हकप्रद शेयर, ७ अर्ब ५० करोडको म्युचुअल फन्ड, ३ अर्ब ४० करोडको डिबेन्चर, ९२ करोड ५० लाख को एफपीओ र २ करोड २९ लाख बराबरको अन्य गरी कुल ७० अर्ब ४६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ३७ अर्ब १ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । जसमध्ये २३ अर्ब १३ करोड बराबरको म्युचुअल फण्ड, ८ अर्ब ७० करोड बराबरको साधारण शेयर, रु.४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, २० करोडको डिबेन्चर रहेको छ ।