काठमाडौं, १८ चैत । २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना पर्यटक नेपाल घुम्न आएका छन्, जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा शून्य दशमलव ९६ प्रतिशत कम हो । मार्च २०२५ मा १ लाख २१ हजार ६८७ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
गत महिना फेब्रुअरीको तुलनामा भने मार्चमा पर्यटक आगमन बढेको हो । फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४४१ पर्यटक आएका थिए ।
मार्च–अप्रिल सिजन हिमाल आरोहण, ट्रेकिङ, सांस्कृतिक भ्रमणका लागिको सिजन भएता पनि पश्चिम एसियामा चर्किएको युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा पर्यटक आगमन घटेको देखिन्छ ।
पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा छिमकी मुलुक भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल घुम्न आएका छन् । सो महिनामा भारतबाट २५ हजार ७ सय २८ पर्यटक आएका छन् ।
त्यस्तै, अर्काे छिमेकी मुलुक चीनबाट ११ हजार २२० पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९, अमेरिकाबाट ९ हजार ७७४, म्यानमारबाट ६ हजार २० बंगलादेशबाट ४ हजार ६७६ र थाइल्यान्डबाट ३ हजार ८ सय ९७ पर्यटक आएका छन् ।
मार्चमा दक्षिण एसियाली र अन्य एसियाली देशबाट आउने पर्यटक संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । सो अपधिमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६ सय ६८ पर्यटक आएका छन् , जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो ।
त्यस्तै अन्य एसियाली मुलुकबाट ३३ हजार ४३६ पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्याङ्कमा उल्लेख छ, जुन कुल आगमनको २७.७ प्रतिशत हो । युरेपेली मुलुकबाट २० हजार ८७६, ओसेनियाबाट ५ हजार २२५, अमेरिका क्षेत्रबाट १० हजार ३७४, मध्य पूर्वीका मुलुकबाट १ हजार ७१८ र अफ्रीकाबाट २६१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।