काठमाडौं, १८ चैत । मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य देखिएका छन् । नेपाल स्टक एक्स्चेन्जले बुधबार मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको हो ।
नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा (८)१ बमोजिम १२३ कम्पनीहरूलाई कारोबारका लागि योग्य ठहर गरेको हो । योग्य कम्पनीहरूको शेयर धितो राखेर लगानीकर्ताले ब्रोकरमार्फत ऋण लिएर (मार्जिन लोन) थप शेयर खरिदबिक्री गर्न सक्नेछन् ।
मार्जिन कारोबारका लागि योग्य कम्पनीमा १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ फाइनान्स, १७ माइक्रोफाइनान्स, १२ जीवन बीमा, ११ निर्जीवन बीमा, १ व्यापार कम्पनी, ६ लगानी समूहका कम्पनी, २८ हाइड्रोपावर कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३ होटल र २ वटा अन्य समूहका कम्पनी छन् ।
तत्काल कारोबार हुनसक्ने गरी कम्तीमा पच्चीस लाख कित्ता शेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकृत भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा कम्तिमा दुई वर्ष खुद नाफा भएको, प्रारम्भिक सार्वजनिक निष्कासनपश्चात सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको कम्पनीमा मात्रै मार्जिन सुविधा पाइने व्यवस्था कार्यप्रक्रियामा छ ।


