काठमाडौं, ९ चैत । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि आफ्नो प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ जारी गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ ।
यसैगरी निष्काशित शेयरमध्ये ५ प्रतिशत (२ लाख १४ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत (१ लाख ७१ हजार ६०० कित्ता) कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म थपिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदन दिन इच्छुकहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन् ।