काठमाडौं, २ चैत । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १४ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिकाको वडा नं ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ ।
यस्तै, ४ लाख ९० हजार कित्ता शेयर बझाङ्ग, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
साथै, ३ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्नेछ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन बन्द छिटोमा चैत २४ गते र ढिलोमा २०८३ बैशाख ९ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।