बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

अनलाइनसमय |
१ चैत २०८२
बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं, १ चैत । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

स्थानीय बासिन्दामध्ये ५ लाख २० हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का अति प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई वितरण गरिनेछ । यस्तै ३ लाख १२ हजार कित्ता शेयर सोही नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ११ का स्थायी बासिन्दालाई छुट्याइएको छ भने २ लाख ८ हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दामा बाँडफाँट गरिनेछ ।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात १ करोड ५ लाख रुपैयाँ बराबरको १ लाख ४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत १५ गतेसम्म र ढिलोमा चैत ३० गतेसम्म तोकिएको छ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने अवधि छिटोमा चैत ५ गतेसम्म र ढिलोमा चैत १५ गतेसम्म रहनेछ ।

कम्पनीको आईपीओका लागि गरिएको रेटिङमा इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस