काठमाडौं, २९ फागुन । सोपान फर्मास्यूटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै चैत ९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले वैदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको आईपीओ पहिलो चरणमा सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँ मूल्य बराबरका ४२ लाख ९० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ । यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ, जसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएको हुनुपर्नेछ ।
त्यस्तै, कुल निष्काशनमध्ये ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६०० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर भने सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।
आईपीओमा लगानी गर्न चाहनेहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन अवधि चैत २३ गतेसम्म थप हुन सक्नेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।