काठमाडौं, २८ फागुन । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आगामी चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
उक्त शेयरका लागि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
त्यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात २ करोड १० लाख रुपैयाँ बराबरको २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूले उक्त शेयरमा आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन अवधि छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने आवश्यक परेमा २०८३ वैशाख ७ गतेसम्म लम्बिन सक्नेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन अवधि छिटोमा चैत ११ गतेसम्म र अधिकतम चैत २२ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।