टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला

अनलाइनसमय |
२७ फागुन २०८२
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं, २७ फागुन । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन सुरु गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबरको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्य बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर छुट्याइएको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा जारी हुने उक्त शेयरका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । यसबाहेक सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता तथा कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर आरक्षित गरिएको कम्पनीले जनाएको छ ।

आईपीओमा लगानी गर्न चाहनेहरूले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत ११ गतेसम्म र ढिलोमा चैत २६ गतेसम्म रहनेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने अवधि छिटोमा चैत १ गतेसम्म र आवश्यक परे चैत ११ गतेसम्म खुला रहनेछ ।

आईपीओ निष्काशनअघि गरिएको मूल्यांकनमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस