काठमाडौं, १५ फागुन । नेपालको सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
कार्यालयको तथ्याङ्क अनुसार सरकारले माघमसान्तसम्म सबैभन्दा बढी बाह्य ऋण तिर्न बाँकी छ । सो अवधिमा सरकारले बाह्य ऋण १५ खर्ब ९ अर्ब ८४ करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण १३ खर्ब ४९ अर्ब १३ करोड तिर्न बाँकी छ ।
एक वर्षको अवधिमा १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थपिएको छ । चालू आवको शरुुमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड थियो ।
कार्यालयका अनुसार सात महिनामा सरकारले आन्तरिक र बाह्य ऋण गरी कुल २ खर्ब ३ अर्बकरोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सो अवधिमा सरकारले आन्तरिक ऋण १ खर्ब ७० अर्ब ६१ करोड भुक्तानी गरेको छ भने बाह्य ऋण ३३ अर्ब ४ करोड रुपैयाँको भुक्तानी गरेको छ ।
कुल गार्हस्थ उत्पादनको ४२.६५ प्रतिशत सार्वजनिक ऋण
आव २०८०÷८१ सम्मको नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४६ दशमलव ८१ प्रतिशत रहेको छ, जसमध्ये आन्तरिक ऋणको हिस्सा जीडीपीको २२ दशमलव ०९ प्रतिशत र बाह्य ऋणको हिस्सा २४ दशमलव ७२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
लक्ष्यको ४२.८९ प्रतिशत ऋण प्राप्ती
यसैगरी, चालू आवमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा माघ मसान्तसम्ममा दुई खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ४२ दशमलव ८९ प्रतिशत हो ।
यस वर्ष आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब रुपैयाँ ऋण उठाउने सरकारी लक्ष्य रहेकामा ६० दशमलव १३ प्रतिशत अर्थात् दुई खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ उठिसकेको छ भने एक खर्ब ४४ अर्ब ३३ करोड रुपैयाँ प्राप्ति हुन बाँकी छ ।
त्यस्तै, बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत अर्थात् ३७ अर्ब ८१ करोड रुपैयाँ प्राप्त भइसकेको छ भने एक खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ प्राप्त हुन बाँकी रहेको छ।