एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुला

अनलाइनसमय |
११ फागुन २०८२
एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं, ११ फागुन । एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै शेयर सार्वजनिक गरेको हो ।

कम्पनीले ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर निष्काशन गर्न स्वीकृति पाएको थियो । सोमध्ये ४ करोड ७० लाख रुपैयाँ बराबरको ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का बासिन्दालाई ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयर छुट्याइएको छ । मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाका लागि ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता शेयर विनियोजन गरिएको छ । त्यस्तै, न्यून प्रभावित क्षेत्र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीयलाई बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर वितरण गरिनेछ ।

यसैगरी, सर्वसाधारणतर्फ छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको छ । यस समूहले नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय बासिन्दाले अधिकतम ४७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म कायम रहने जनाइएको छ ।

आईपीओ निष्काशनका लागि गरिएको मूल्याङ्कनमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस