काठमाडौं, ९ फागुन । पछिल्लो एक वर्ष अवधिमा कार्पेट तथा गलैँचा निर्यात घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को सात महिनामा नेपालले ६ अर्ब ६४ करोड रुपैयाँ बराबरको कार्पेट तथा गलैँचा निर्यात गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ६६ प्रतिशते कम हो । गत आवको माघमसान्तसम्ममा ७ अर्ब १९ करोड १० लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको थियो ।
सबैभन्दा धेरै निर्यात अमेरिकामा भएको छ । चालू आवको माघसम्ममा ३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बरबरको नेपाली कार्पेट तथा गलैँचा अमेरिकातर्फ निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ६५ प्रतिशतले कम हो । गत आवको पहिलो ७ महिनामा अमेरिकामा ३ अर्ब ८९ करोड ७९ लाखको यस्तो वस्तु निर्यात गरिएको थियो ।
अमेरिकापछि ७९ करोड ४७ लाख मुल्य बराबरको कार्पेट भारतमा निर्यात भएको छ । त्यस्तै, जर्मनमा३३ करोड ५८ लाख, फ्रान्समा ३२ करोड २ लाखको, बेलायतमा २७ करोड ८७ लाखको, इटालीमा २३ करोड ३९ लाखको र बेल्जियममा १४ करोड २० लाख रुपैयाँ बराबरको कार्पेट तथा गैलैँचा निर्यात भएको छ ।
यसैगरी, चालू आवको पुससम्ममा ४३ करोड ३२ लाख रुपैयाँको यी वस्तु आयात गरिएको तथ्याङ्कमा उल्लेख छ ।