निर्वाचनले पनि रोकेन युवालाई वैदेशिक रोजगारीमा जान, माघमा साढे ७० हजारले लिए श्रम स्वीकृति

अनलाइनसमय |
५ फागुन २०८२
निर्वाचनले पनि रोकेन युवालाई वैदेशिक रोजगारीमा जान, माघमा साढे ७० हजारले लिए श्रम स्वीकृति

काठमाडौं, ५ फागुन । देशमा प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जान भने रोकिएको छैन । झन् अघिल्लो महिनाको तुलनामा माघमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ ।

यही फागुन २१ गते देशभर प्रतिनिधिसभाको निर्वाचन हुँदैछ, तर साढे ७० हजारभन्दा बढी मतदाता भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिका छन् ।

वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२८३ को माघमा वैदेशिक रोजगारीका लागि ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो महिना पुसको तुलनामा १२ दशमलव ६९ प्रतिशतले बढी हो । गत पुसमा ६२ हजार ५५९ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

गत आवको तुलनामा भने वैदेशिक रोजगारीमा जानेको सङ्ख्या २ दशमलव ६७ प्रतिशतले घटेको छ । गत आवको माघमा ७२ हजार ४४१ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

यस्तै, चालू आवको साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४ र मंसिरमा ६५ हजार ७०५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

करिब ३८ हजारले लिए नयाँ श्रम स्वीकृति
विभागका अनुसार साउनमा नयाँ श्रम स्वीकृति लिएर ३७ हजार ८१२ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये महिला ४ हजार ९३८ र पुरुष ३२ हजार ८७४ जना छन् ।

यस्तै संस्थागतबाट २४ हजार २८१ पुरुष र २ हजार ५२६ जना महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । माघमा व्यक्तिगततर्फबाट ८ हजार ४० पुरुष र २ हजार ३२० महिलाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगततर्फबाट पुनः श्रम स्वीकृति लिएर ३२ हजार ६९१ जना वैैदेशिक रोजगारीमा गएका छन् । साथै जी.टु.जीमार्फत ५७९ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्ललेख छ ।

यसैगरी माघमा युनाइटेड अरब इमिरेट्स (यूएई) जान सबैभन्दा धेरै श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ । माघमा यूएई जान १५ हजार १३७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, कतार जान ११ हजार ५८०, मलेसियाको लागि १० हजार ३४१, कुवेतको लागि ५ हजार ४४३, रोमानियाका लागि ३ हजार ९४०, जापानको लागि १ हजार ७६०, साइप्रसको लागि १ हजार २५५, ओमानको लागि १ हजार २०५ र बहराइनको लागि १ हजार १२७ जनाले श्रम स्वीकृति लिएर गएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस