शिखर पावरको करिब साढे १८ लाख कित्ता शेयर बिक्रीमा आउँदै

अनलाइनसमय |
५ फागुन २०८२
शिखर पावरको करिब साढे १८ लाख कित्ता शेयर बिक्रीमा आउँदै

काठमाडौं, ५ फागुन । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आगामी फागुन १७ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरिसकेको छ ।

कम्पनीले आफ्नो ९८ करोड रुपैयाँ जारी पूँजीको ३२ दशमलव ६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये ९ लाख ८० हजार कित्ता शेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रका आधारमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिएको छ । यस्तै २ लाख २२ हजार कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि तथा १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकिएको छ ।

दोस्रो चरणअन्तर्गत कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता छुट्याएर बाँकी १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्न लागेको हो । उक्त शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गते बन्द हुने जनाइएको छ ।

कम्पनीको वित्तीय अवस्था र दायित्व वहन क्षमताको मूल्याङ्कन गर्दै इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस