काठमाडौं, २६ माघ । नेपालको ९६ दशमलव ७ प्रतिशत घरपरिवारमा विद्युत् (बिजुली) सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनका अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९९ दशमलव ५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ८० दशमलव ८ प्रतिशत घरपरिवारमा बिजुली सेवाको पहुँच पुगेको छ ।
नेपालमा ९५ दशमलव ५ प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोवाइल फोन ) सुविधाको पहुँच रहेको छ ।
प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ९७ दशमलव १ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९२ दशमलव ६ प्रतिशत रहेको छ ।
त्यसैगरी, प्रत्येक पाँच मध्ये चार ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधा सहितको उपकरणको प्रयोग गरेको पाइएको प्रतिवेदनले देखाएको छ । १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७६ दशमलव ६ प्रतिशत महिलाको आफ्नै मोबाइल फोन रहेको छ भने ७३ दशमलव ९ प्रतिशत महिलाले गत तीन महिनामा मोबाइल फोन प्रयोग गरेको देखिएको छ ।
१५ देखि ४९ वर्ष उमेर समूहका पुरुषमध्ये ९० दशमलव ४ प्रतिशत पुरुषको आफ्नै मोबाइल फोन रहेको छ भने गत तीन महिनामा ८७ दशमलव ७ प्रतिशत पुरुषले मोबाइल फोन प्रयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।