काठमाडौं, २६ माघ । होटल फरेष्ट इन लिमिटेडले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने म्याद आज सकिँदै छ । कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको थियो ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न गरिसकेको थियो । सोही बाँडफाँटपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिएको हो ।
कम्पनीले २ अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर अर्थात ४० करोड रुपैयाँको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइँदै बाँडफाँट भइसकेको छ ।
दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि बाँकी ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरमा ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।