काठमाडौं, २० माघ । चालू आर्थिक वर्ष (आव) २०८२८३ को पुस मसान्तमा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब ३५ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । २०८१ पुस मसान्तमा बजार पूँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड रहेको थियो । सो अवधिमा बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७५.३७ प्रतिशत रहेकोमा २०८२ पुसमा ७२.६२ प्रतिशत रहेको छ ।
पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८४ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत् कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । अघिल्लो वर्षको पुसमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो ।
यसैगरी, सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५२.३ प्रतिशत रहेको छ । जलविद्युत्कम्पनीको हिस्सा १५.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.८ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.४ प्रतिशत रहेको छ । नेप्सेमा चालू आवको पुस मसान्तमा सूचीकृत ९ अर्ब २२ करोड शेयरको चुक्ता मूल्य ९ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
चालू आवको ६ महिनामा २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको साधारण शेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, ६ अर्ब २५ करोड बराबरको म्युचुअल फन्ड, ६ अर्ब २५ करोड बराबरको बोनस शेयर, ३ अर्ब ४० करोड बराबरको डिबेन्चर र ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ लगायत गरी कुल ४८ अर्ब ४४ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ५ अर्ब ५५ करोड बराबरको साधारण शेयर र ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल २१ अर्ब १५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।