भारतको बजेट : नेपाललाई ८ सय करोड भारु अनुदान

अनलाइनसमय |
१८ माघ २०८२
भारतको बजेट : नेपाललाई ८ सय करोड भारु अनुदान

काठमाडौं, १८ माघ । भारत सरकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता बढाएको छ ।

आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०२६/०२७ को वार्षिक बजेटमा नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ (भारु) अनुदान दिने घोषणा गरेकी हुन्, जुन अघिल्लो वर्षको तुलनामा १०० करोड रुपैयाँले बढी हो । भारतले विनियोजन गरेको यो अनुदान रकम नेपाली रुपैयाँमा करिब १२ अर्ब ८० करोड हुन आउँछ ।

यसैगरी, श्रीलंकालाई पनि अघिल्लो वर्षको भन्दा १०० करोड बढाएर ४०० करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । आर्थिक पुनरुत्थानको प्रयासमा रहेका दुवै मुलुकलाई लक्षित गर्दै सहायता बढाइएको भारतीय बजेट दस्तावेजमा उल्लेख छ ।

भारतले आफ्नो वैदेशिक सहायता अन्तर्गत छिमेकी मुलुकमध्ये सबैभन्दा ठुलो हिस्सा भुटानलाई प्रदान गर्दै आएको छ । आगामी वर्षका लागि भारतले भुटानलाई २ हजार २ सय ८८ करोड भारु अनुदान दिने घोषणा गरेको छ ।

त्यस्तै, मालदिभ्सलाई ५५० करोड भारु, म्यानमारलाई ३०० करोड, अफगानिस्तानलाई १५० करोड, बंगलादेशलाई ६० करोड, मंगोलियालाई २५ करोड तथा अफ्रिकी मुलुकहरूलाई २ सय २५ करोड भारु विनियोजन गरिएको छ ।

भारतको विदेश मन्त्रालयको समग्र बजेट भने यस वर्ष २२ हजार ११८.९७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २० हजार ५१६.६१ करोड रुपैयाँभन्दा केही बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस