१७ प्रतिशतले बढ्यो जीवन बीमाको व्यवसाय, ६ महिनामा ९४.३७ अर्ब बीमाशुल्क संकलन

अनलाइनसमय |
१४ माघ २०८२
१७ प्रतिशतले बढ्यो जीवन बीमाको व्यवसाय, ६ महिनामा ९४.३७ अर्ब बीमाशुल्क संकलन

काठमाडौं, १४ माघ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को ६ महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय ९४ अर्ब रुपैयाँभन्दा धरै भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले पुससम्ममा ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ व्यवसाय भएको थियो ।

व्यवसायमा उठेको बीमा शुल्क मध्ये प्रथम बीमा शुल्कबाट २१ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ । त्यस्तै नविकरण बीमाशुल्कमार्फत ७२ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ संकलन भएको छ । पुससम्ममा सक्रिय रहेको बीमालेखको सङ्ख्या कुल १ करोड १४ लाख ५५ हजार २३५ रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

जीवन बीमा व्यवसाय गर्ने १४ बीमकहरु रहेका छन् । यी बीमक मध्ये सबै भन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड रहेको छ । कम्पनीले ६ महिनामा २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रो धेरै बीमाशुल्क आर्जन गर्नेमा नेसनल लाइफ रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ११ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले १० अर्ब २२ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसगरी, हिमालयन लाइफले ८ अर्ब ६२ करोड २० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड २७ रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ र सिटिजन लाइफले ४ अर्ब ४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस