१३.३७ प्रतिशतले बढ्यो निर्जीवन बीमाको व्यवसाय

अनलाइनसमय |
१४ माघ २०८२
१३.३७ प्रतिशतले बढ्यो निर्जीवन बीमाको व्यवसाय

काठमाडौं, १४ माघ । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमास (साउन–पुस) सम्ममा साढे २३ अर्ब रुपैयाँ बढि बीमा शूल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले आवको ६ महिनामा २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ संकलन गरेका हुन् ।

गत पुससम्ममा यी कम्पनीहरूले १४ लाख १९ हजार ५४८ वटा बीमालेखमार्फत सो बीमाशुल्क आर्जन गरेका हुन्, जुन गत आवको यसै अवधिको तुलनामा १३ दशमलव ३७ प्रतिशत बढि हो ।

२०८१ को पुससम्ममा बीमा कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ वटा बीमालेखमार्फत २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

चालू आवको ६ महिनामा गत आवको तुलनामा १३ बीमा कम्पनीको व्यवसाय बढेको छ भने एउटाको घटेको छ । यस अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ ।

गत पुससम्ममा शिखर इन्स्योरेन्सले १ लाख ४७ हजार ६०९ वटा बीमालेखमार्फत २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

दोस्रो धेरै व्यापार गर्ने बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले समीक्षा अवधिसम्ममा १ लाख ३२ हजार २२ वटा बीमालेखमार्फत २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

तेस्रो धेरै व्यापार गर्नेेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । यो कम्पनीले पुससम्ममा २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन देखिन्छ ।

यस्तै सो अवधिमा सिद्धार्थ प्रिमियर एभरेस्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड ६५ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड ८० लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड २८ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड २२ लाख, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड १३ लाख, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ४२ करोड ८३ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड १२ लाख, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख, नेसनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस