काठमाडौं, १४ माघ । होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि आगामी माघ २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्नपछि कम्पनीले अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत हिस्सा बराबरको ४० करोड रुपैयाँ मूल्यको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसमध्ये ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कम्पनीका कर्मचारीका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ ।
दोस्रो चरणअन्तर्गत कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । शेयर निष्काशन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म खुला रहने जनाइएको छ ।
कम्पनीको आईपीओका लागि गरिएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले होटल फरेष्ट इन लिमिटेडलाई ‘आईआरएन डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले सम्हालेको छ ।