काठमाडौं, १३ पुस । नेपाल राष्ट्र बैंकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी राजनीतिक दल तथा उम्मेदवारहरूलाई छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले सोमबार एक सर्कुलर जारी गर्दै एउटा मात्रै बैंक खाता खोल्न भनेको हो ।
केन्द्रीय बैंकले निर्वाचन आयोगको अनुरोधबमोजिम निर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने बताएको छ । ‘निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान समूह ( वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्रा ( रुपैयाँ पैसा) को आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवम् स्वतन्त्र उम्मेदवारहरुलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ,’ निर्देशनमा भनिएको छ ।
साथै, यसरी खोलिने बैंक खाताको हकमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई जारी एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा रहेको छुट प्रदान गरेको बताएको छ । केन्द्रीय बैंकले भनेको छ, ‘बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न पाइने छैन भन्ने व्यवस्थामा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको ब्यहोरासमेत अनुरोध छ ।’