काठमाडौं, १२ माघ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को ६ महिनामा करिब साढे १० अर्ब रुपैयाँको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आवको साउनदेखि पुससम्ममा १० अर्ब ४७ करोड ३७ लाख रुपैयाँ बराबरको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २७ दशमलव ०७ प्रतिशतले बढी हो । गत आवको पुससम्ममा ८ अर्ब २४ करोड २३ लाख रुपैयाँ बराबरको यस्तो सामग्री निर्यात भएको थियो ।
निर्यात हुने मसलाजन्य वस्तुमा अलैंची, कालो चिया र अदुवा सबैभन्दा धेरै रहेको छ । पुससम्ममा ७ अर्ब १९ करोड ९५ रुपैयाँ बराबरको ३ हजार ४६१ मेट्रिक टन अलैंची निर्यात भएको छ ।
यस्तै २ अर्ब २२ रोड २१ लाख मूल्य बराबरको ७ हजार ९२३ मेट्रिक टन अन्य (कालो चिया) निर्यात भएको छ । ६५ करोड ७ लाखको ८ हजार ९७५ मेट्रिक टन अदुवा र ६ करोड मूल्य बराबरको ३९ मेट्रिक टन ग्रिन टी निर्यात भएको छ । विभागका अनुसार ४ करोड ३१ लाख बराबरको २२ मेट्रिक टन कफी निर्यात भएको छ ।
पुससम्ममा ४ अर्ब ६८ करोड मूल्य बराबरको भने कफी, चिया र मसलाजन्य सामग्री आयात भएको छ । यी वस्तुको आयात गरेबापत सरकारले १ अर्ब १५ करोड १५ लाख रुपैयाँ राजस्व उठाएको छ ।