काठमाडौं, १२ माघ । वीरगञ्ज भन्सार कार्यालयबाट आयात बढेको छ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महिनामा करिब साढे ४ खर्बको सामान आयात गरिएको हो ।
कार्यालयका अनुसार गत पुस मसान्तसम्ममा ४ खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान भित्रिएको छ, जुन गत आवको यसै अवधिको तुलनामा १५ दशमलव ३० प्रतिशत बढी हो । २०८१ को पुससम्ममा यो नाकाबाट ३ खर्ब ८० अर्ब छ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो ।
चालू आवको ६ महिनामा ९० अर्ब ६ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । यस्तै ३९ अर्ब ३ करोड मूल्यपर्ने फलाम तथा फलामबाट बनेका सामान, ३० अर्ब १ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा र २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल भित्रिएको छ ।