काठमाडौं, ८ माघ । चालूु आर्थिक वर्ष (आव) २०८२/८३ को ६ महिनामा नेपालले १५२ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये ३४ मुलुकसँग मात्रै व्यापार बचतमा छ । बाँकी सबै मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको पुससम्ममा व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि डेनमार्क छ । सो अवधिमा नेपाल डेनमार्कसँग ४१ करोड ८६ लाखभन्दा बढीको बचतमा छ । ६ महिनामा नेपालले डेनमार्कतर्फ ५१ करोड २ लाख मूल्यभन्दा बढीको वस्तु निर्यात गरेको छ भने ९ करोड १५ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।
डेनमार्कपछि नेपाल सबैभन्दा धेरै रोमानियासँग बचतमा छ । चालू आवको कात्तिकसम्ममा नेपालले रोमानियातर्फ ८ करोड १२ लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ भने २ करोड २१ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ । अर्थात नेपाल सो अवधिमा डेनमार्कसँग ५ करोड ९१ लाख रुपैयाँले बचतमा छ ।

यसैगरी, नेपालको स्वीडेनसँग ३ करोड ३१ लाख मूल्य बराबरको व्यापार बचतमा छ । सो अवधिमा नेपालले त्यसतर्फ १८ करोड ७४ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको गर्दा त्यहाँबाट १५ करोड ४२ लाखको वस्तु आयात गरेको छ ।
यसैगरी चालू आवको पुससम्म नेपालले १५२ मलुकसँग व्यापार गर्दा ११८ मुलुकसँग व्यापार घाटा बेहोरेको छ । व्यापार घाटामा रहेका मुलुकमध्ये सबैभन्दा बढी छिमेकी राष्ट्र भारतसँग छ । चालू आवको ६ महिनामा नेपालले भारतसँग मात्रै ४ खर्ब १६ अर्ब ७१ करोडभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले भारतबाट ५ खर्ब ३२ अर्ब ४५ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ १ खर्ब १५ अर्ब ७४ करोडको वस्तु निर्यात गरेको छ ।
भारतपछि नेपालले अर्काे छिमेकी मुलुक चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । पुससम्ममा नेपालले चीनतर्फ ६४ करोड ९ लाख मूल्य बराबरको वस्तु निर्यात गर्दा आयात भने १ खर्ब ९६ अर्बभन्दा बढीको वस्तु आयात गरेको छ । अर्थात सो अवधिमा नेपालले चीनसँग १ खर्ब ९५ अर्ब ३६ करोडभन्दा धेरैको व्यापार घाटा बेहोरेको छ ।
यस्तै अर्जेन्टिनासँग ५४ अर्ब ४३ करोड, युएईसँग ३० अर्ब ८७ करोड, इन्डोनेसियासँग ९ अर्ब ८१ करोड मूल्य बराबरको व्यापार घाटा बेहोरेको छ ।

नेपालले चालू आवको पुस मसान्तसम्ममा १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा ७ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको घाटा बेहोरेको छ । सो अवधिमा १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भने ९ खर्ब ३९ अर्ब ९ करोड करोड रुपैयाँको वस्तु आयात भएको छ ।