काठमाडौं, १० पुस । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएअनुसार परामर्श र गृहकार्य भइरहेको बताएकी छन् । बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै हामीले केही ठोस पहल थालेका छौं । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’
उनले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताइन् । नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यावहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकारवालाहरूले पर्याप्त ध्यान दिनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ ।
साथै प्राध्यापक–विद्यार्थीको सही अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा र उच्च गुणस्तरका अनुसन्धान सामग्री प्रकाशन गर्ने कार्यमा प्राध्यापक, विद्यार्थी तथा व्यवस्थापन सबै पक्ष थप क्रियाशील हुन आवश्यक रहेको उनले बताइन् ।