• ताजा समाचार, वाणिज्य

    एक वर्षमै थपिए ३६ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

     86 Views
    एक वर्षमै थपिए ३६ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

    काठमाडौं, ६ जेठ । पछिल्लो एक वर्ष अवधिमै ३६ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा कुल ३६ लाख १९ हजार ५९८ मोबाइल बैंकिङ् प्रयोगकर्ता थपिएका छन् । गत आवको चैतसम्ममा २ करोड ४ लाख ३४ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा चालू आवको सो अवधिमा बढेर २ करोड ४० लाख ५३ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता पुगेका छन् । अर्थात् यो सङ्ख्या एक वर्ष अवधिमा १७ दशमलव ६७ प्रतिशतले बढेको हो ।

    यस्तै चालू आवको चैतसम्ममा १९ लाख ४ हजार ७३३ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगिसकेको छ, जुन गत आवको सो अवधिको तुलनामा ५ दशमलव ८८ प्रतिशतले बढी हो । गत आवको चैतसम्ममा १७ लाख ९८ हजार ८६६ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगेको थियो ।

    राष्ट्र बैंकका अनुसार चालू आवको ९ महिनासम्ममा १ करोड २७ लाख १४ हजारभन्दा बढी डेविट कार्ड प्रयोगकर्ता रहेका छन्, जुन गत आवको चैतसम्मको तुलनामा ४ दशमलव ९१ प्रतिशतले कम हो । गत आवको सो अवधिमा यसको प्रयोगकर्ता १ करोड २१ लख १८ हजारभन्दा बढी थिए ।

    यस्तै चैतसम्ममा क्रेडिट कार्ड र प्रिपेइड कार्ड प्रयोगकर्ताको सङ्ख्या क्रमशः २ लाख ८४ हजार ६७२ र १ लाख ६५ हजार ३३२ पुगेको छ । सो अवधिमा ५ हजार ९६ एटिएम रहेका छन् ।

    चालू आवको तेस्रो त्रैमाससम्ममा ५४ वटा बैंकिङ संस्था रहेका छन् । यी संस्थाका ६ हजार ४६५ वटा शाखा कार्यालय छन् । सो अवधिमा ५ करोड ४७ लाख ४५ हजारभन्दा बढीको बैंकिङ खाता रहेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment