शिक्षक महासंघसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त

अनलाइनसमय |
१७ वैशाख २०८२
शिक्षक महासंघसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त

काठमाडौँ, १७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । मङ्गलबार राति मन्त्रालयमै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पन्तले वार्तालाई यथासक्य चाँडो निष्कर्षमा पुर्‍याउने प्रयास भइरहेको बताएका हुन् ।

मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको वार्तामा शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोली सहभागी थियो । वार्तामा सरकारका तर्फबाट उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री पन्त सहभागी भएका थिए ।

शिक्षक महासङ्घका पदाधिकारीहरू पनि सकारात्मक ढंगले प्रस्तुत भएको जनाइएको छ । यसअघि सोमबार भएको वार्ता पनि उत्साहजनक रहेको भन्दै त्यसको निरन्तरता स्वरूप मङ्गलबार पुनः छलफल भएको हो ।

गत चैत २० गतेदेखि शिक्षक सङ्घ संगठनहरूले आफ्ना विभिन्न मागहरू अघि सार्दै देशव्यापी आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण शैक्षिक सत्र २०८२ को सुरुआतदेखि नै सामुदायिक विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ । साथै वैशाख ११ गतेदेखि हुनुपर्ने कक्षा १२ को वार्षिक परीक्षा पनि २१ गतेबाट सुरु हुने गरी सरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस