काठमाडौं, ९ वैशाख । राष्ट्रिय सभा सांसद डा. अन्जान शाक्यले आफू शिक्षामन्त्री बन्ने भनेर सामाजिक सञ्जाल र मिडियामा फैलिएको प्रचार झुठो र भ्रामक भएको स्पष्ट पारेकी छन् । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएपछि शाक्यको नाम शिक्षामन्त्रीका रूपमा अगाडि सारिएको चर्चा फैलिएको थियो । तर डा. शाक्यले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रचारमा कुनै सत्यता नरहेको उल्लेख गरेकी छन् ।
‘म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो,’ शाक्यले सञ्जालमा लेखेकी छन् ।
उनी हालै मात्र अन्तर–संसदीय संघ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएर आएकी छन् । सो भूमिकाले नेपालको अन्तर्राष्ट्रिय छवि उच्च बनाउन योगदान हुने उल्लेख गर्दै उनले अहिले आफ्नो ध्यान र प्रतिबद्धता सोही जिम्मेवारी पूरा गर्नमा केन्द्रित रहेको बताइन् ।
राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले ऐन तथा कानुन निर्माणमा सक्रिय संलग्नता रहेको बताउँदै उनले तत्काल मन्त्री बन्ने कुरा सम्भव र उपयुक्त नरहेको तर्क गरिन् । ‘अहिले मेरो पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने रहेको अवगत गराउन चाहन्छु । म अहिले राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले पनि मैले अहिले ऐन कानुन बनाउन सक्रिय भूमिका खेल्नुपर्ने दायित्व छ,’ उनले भनिन्, ‘त्यसैले अहिले तुरुन्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिवद्ध छु ।’
पूर्वराजदूत समेत रहेकी शाक्यले विगतमा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरेको उल्लेख गर्दै आफ्नो कार्यक्षमता र इमान्दारितालाई अनावश्यक रूपमा विवादमा तान्ने प्रयास भइरहेको आरोप लगाइन् । ‘पूर्वराजदूतको समेत जिम्मेवारी सम्हालिसकेको अनुभव मात्रै होइन आफ्नो कर्तव्य र इमान्दारिताका लागि विश्व समुदायबाट सम्मानित भएर अन्तराष्ट्रिय पुरस्कारहरु समेत पाइसकेको व्यक्ति हुँ भन्ने जानकारी पनि यहाँ स्मरण गराउँन चाहन्छु,’ उनले फेकबुकमा लेखेकी छन्, ‘मलाई जानकारी भएअनुसार केही मानिसले मप्रति पूर्वाग्रह राखेर नै अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको होला भन्ने ठानेको छु ।’
आफू विरुद्ध भएका भ्रामक प्रचार नफैलाउन सञ्चारमाध्यमहरूलाई आग्रह गरेकी छन् । ‘गलत स्वार्थसहित केही सञ्चारमाध्ययममा कसैले फैलाएको भ्रमको पछि नलाग्न पनि म सबैलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भनेकी छन् ।