काठमाडौं, २ वैशाख । गत दुई महिनायता खस्किएको घरजग्गाको कारोबार चैतमा भने केही सुधार देखिएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत फागुनको तुलनामा चैतमा घरजग्गा कारोबार ८ दशमलव १८ प्रतिशतले बढेको हो ।
चैतमा ४९ हजार ८३२ घरजग्गााको लिखत पारित भएको छ, गत फागुनमा ४६ हजार ६१ वटा घर जग्गाको कारोबार भएको थियो । माघमा ४६ हजार ६९ र पुसमा ४८ हजार १५६ वटा घरजग्गा लिखत पारित भएका थिए । चैतमा भएको घर जग्गाको कारोबार यस वर्षकै सबैभन्दा बढी हो ।
चैतमा सुनसरीको इनरूवा मालपोतले सबैभन्दा बढी घरजग्गाको कारोबार गरेको छ । त्यहाँबाट १ हजार ८९६ घरजग्गा लिखत पारित भएको छ । सुनसरीपछि झापाको भद्रपुर मालपोतबाट १ हजार ८०४ वटा घरजग्गाको कारोबार भएको छ । त्यस्तै बेलवारी मोरङबाट १ हजार ७०४, धनुसा मालपोतबाट १ हजार ५३८, सप्तरी मालपोतबाट १ हजार ४०९, सर्लाही मालपोत कार्यालयबाट १ हजार २४७, सिराहा मालपोत कार्यालयबाट १ हजार १६१ घरजग्गाको कारोबार भएको छ ।
काठमाडौं उपत्यकाको हकमा घरजग्गाको किनबेच सबैभन्दा बढी भक्तपुर मालपोतले गरेको देखिन्छ । यस कार्यालयले चैतमा १ हजार ६१ घरजग्गाको लिखत पारित गरेको छ । त्यस्तै लगनखेल मालपोतले ९५१, कलङ्की मालपोतले ७२७ र चाबहिल मालपोतले ५४८ वटा घरजग्गाको कारोबार गरेको छ ।
करिब साढे ४ अर्ब राजस्व संकलन
घरजग्गा कारोबारबाट यस वर्षकै सबैभन्दा धेरै आम्दानी प्राप्त भएको छ । विभागका अनुसार चैतमा घरजग्गा कारोबार बाट ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ, जुन फागुनको तुलनामा ६ दशमदव ५५ प्रतिशतले बढी हो । सोही महिनामा यस्तो कारोबारबाट ४ अर्ब १२ करोड रुपैयाँ बराबर आम्दानी उठेको थियो ।
चैतमा सेवा करबाट ३१ करोड ८५ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुर २ अर्ब ३८ करोड र पुँजीगत लाभकरबाट १ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
चालू आवको ९ महिनामा सरकाले घरजग्गा कारोबारबाट मात्रै ३३ अर्ब २१ करोड रुपैयाँ आम्दानी प्राप्त गरेको छ । सो अवधिमा ३ लाख ६५ हजार ६७१ वटा घरजग्गा कारोबार भएका छन् ।
९ महिनामा भएको घरजग्गा कारोबार र यसबाट प्राप्त राजस्व
