काठमाडौं, २७ चैत । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ ।
बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मङ्गलबार राति ९ बजे (१३०० जिएमटी) आगलागी भएको हो । आगलागीमा परी बुधबार बिहान ३ बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ ।
नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ । सिन्ह्वाका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
नर्सिङ होमका लागि जिम्मेवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको काउन्टी सरकारले जनाएको छ ।