काठमाडौं, २० कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन मधेस प्रदेशको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा परम्पराअनुसार धनतेरस मनाइँदैछ । यस अवसरमा साँझ घरघरमा दीप प्रज्वलन गरी नयाँ धातुका भाँडाकुँडा तथा गरगहना किन्ने चलन छ ।
पाँच दिनसम्म मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म लम्बिएको छ । मिथिला क्षेत्रमा दीपावलीलाई दिवालीसमेत भनिन्छ । यहाँ धनतेरसका दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने उद्देश्यले धातुका सामग्री, गरगहना, भाँडाकुँडा, खरेटो र धनियाँ किन्ने परम्परा रहिआएको छ ।
मैथिल कर्मकाण्डका जानकार महेशकुमार झाका अनुसार आज सूर्योदयका समयमा द्वादशी तिथि रहे पनि बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको हो । उनका अनुसार त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।
त्रयोदशीकै दिन मनाइने काग पूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा गर्ने मैथिल परम्परा छ ।
मिथिला क्षेत्रमा चाडपर्व, शुभकार्य, तिथिश्राद्ध तथा धार्मिक अनुष्ठानको मिति निर्धारण गर्दा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गलाई आधार मान्ने गरिन्छ ।
मैथिल परम्पराअनुसार आगामी बुधबार भैयादूज मनाएसँगै यस वर्षको दीपावली पर्व औपचारिक रूपमा सम्पन्न हुनेछ ।