काठमाडौं, १५ कात्तिक । जर्मनीमा जीवनयापनको बढ्दो लागत, शिक्षा क्षेत्रमा बजेटको कमी र अनिवार्य सैन्य सेवाको विरोधमा आयोजना गरिएको विशाल प्रदर्शन हिंसात्मक बनेको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टको मध्यभागमा शनिवार राति दङ्गाकारीहरूले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग भीषण झडप भएको बीबीसीमा उल्लेख छ ।
फ्र्याङ्कफर्टका अतिरिक्त बर्लिन, कोलोन र ह्याम्बर्ग लगायतका अन्य जर्मन शहरहरूमा पनि हिंसात्मक घटनाहरू घटेका छन् । आपतकालीन सेवाका कर्मचारीहरूमाथि पटाका, ढुङ्गा र बोतलहरू प्रहार भएपछि उनीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा प्रयोग गर्नु परेको बताइएको छ ।
यो अशान्ति फ्रान्समा भएका यस्तै युवा नेतृत्वको विशाल विरोध प्रदर्शनपछि आएको हो, जहाँ शनिवार ३ लाख २० हजारभन्दा बढी मानिसहरूले प्रदर्शन गरेका थिए ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार फ्र्याङ्कफर्टको मुख्य व्यापारिक सडकको ठूलो भाग प्रहरीले बन्द गरेको थियो। प्रहरी प्रवक्ताका अनुसार शहरमा थुप्रै प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको छ ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै फ्र्याङ्कफर्ट प्रहरीले शहरको केन्द्रमा हिंसात्मक दङ्गा भइरहेको र आपतकालीन सेवाहरूमाथि मोलोटोभ ककटेल (पेट्रोल बम) सम्म फ्याँकिएको पुष्टि गरेको छ । पछिल्ला विवरणअनुसार दङ्गाकारीहरूले एक बन्दुक पसलको झ्याल फुटाएका थिए । प्रहरीले एक संदिग्धलाई पक्राउ गरी उनीहरूको कब्जाबाट दुईवटा हतियार जफत गरेको छ ।
यो प्रदर्शन अभियान समूह ‘जेन जी रेगेल्ट’ले आयोजना गरेको थियो ।
अधिकारीहरूले फ्र्याङ्कफर्ट, म्यूनिख र बर्लिनमा गरी करिब १८ हजार प्रदर्शनकारीहरू उपस्थित भएको बताएका छन्, जुन आयोजकहरूले आफ्नो वेबसाइटमा अनुमान गरेको संख्याको आधा मात्र हो । यद्यपि जर्मन सञ्चारमाध्यमहरूले भने शनिवार देशभरीका शहरहरूमा दशौँ हजार नागरिकले प्रदर्शन गरेको जनाएका छन् ।
समूहकी प्रवक्ता लिना फ्रिड्रिचले प्रदर्शनहरू युद्ध र जबरजस्तीको सट्टा शान्ति र स्वतन्त्रताका लागि भएको बताएकी छन् । उनले भनिन्, हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा स्वास्थ्य र शिक्षा प्रणालीका लागि राम्रो सहयोग हो । हामी अनिवार्य सैन्य सेवाको विरुद्धमा छौँ । दायित्वको न्यायोचित वितरणको पक्षमा छौँ। “